
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई थप मजबुत बनाएका छन्। निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार सुहाङले ९ हजार ३ सय ८८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका छन्।
उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले पछ्याइरहेका छन्। राईले हालसम्म ७ हजार ७ सय ४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ५ हजार २० मतका साथ तेस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल बहादुर राईको पक्षमा २ हजार ३ सय ४० मत खसेको छ भने नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङले ६७८ मत पाएका छन्।
हालसम्म २८ हजार २६५ मत गणना भइसकेकोमा २६ हजार ५९३ मत सदर र १ हजार ६७२ मत बदर भएको आयोगले जनाएको छ। मतगणना अझै जारी छ ।

























