
दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र (बालेन) शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो तथ्याङ्क अनुसार शाहले एमाले अध्यक्ष ओलीलाई २८ हजार ९९१ मतले पछाडि पारेका छन्।
हालसम्म ६२ हजार मत गणना हुँदा बालेन शाहले ३९ हजार २८४ मत प्राप्त गरेका छन् भने केपी शर्मा ओलीले १० हजार २९३ मत मात्रै पाएका छन्। यो मतान्तर ओलीले २०७९ सालको निर्वाचनमा हासिल गरेको कुल विजय मतान्तरभन्दा पनि बढी हो।
अघिल्लो निर्वाचनमा ओलीले कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। यसपटक गणनाको मध्यतिरै बालेनको अग्रताले उक्त रेकर्डलाई उछिनेको छ।
झापा–५ मा कुल १ लाख ६३ हजार मतदाता छन्। सुरुवाती गणनादेखि नै अग्रता लिएका शाहले गणना अघि बढ्दै जाँदा मतान्तरलाई झन् फराकिलो बनाउँदै लगेका छन्।
एमालेको ‘लालकिल्ला’ मानिने र ओलीको गृहक्षेत्र रहेको यस स्थानमा रास्वपाको यो अग्रतालाई देशैभरिको निर्वाचन परिणाममध्ये सबैभन्दा रोचक र शक्तिशाली परिवर्तनका रूपमा हेरिएको छ।

























