
काठमाडौं। जेनजी प्रदर्शन र त्यस क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
सरकारले गत असोज ५ गते भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न यो आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका थिए । प्रतिवेदन बुझाए पनि यसमा समेटिएका मुख्य निष्कर्ष र सुझावहरू भने सार्वजनिक गरिएको छैन ।
आयोगले छानबिनका क्रममा भदौ २३ र २४ को आन्दोलनमा युवाहरूको ज्यान जाने गरी भएको घटनाका विषयमा विस्तृत अध्ययन गरेको थियो । सो क्रममा १५० जनाभन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरूसँग बयान लिइएको आयोगले जनाएको छ ।
स्मरणीय छ, जेनजी आन्दोलन हुँदा मुलुकमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो । सो समयमा गृह मन्त्रीको जिम्मेवारीमा रमेश लेखक, गृह सचिवमा गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ र काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाल रहेका थिए ।
आन्दोलनका क्रममा भएको बल प्रयोग र मानवीय क्षतिका विषयमा आयोगले तत्कालीन सुरक्षा नेतृत्व र प्रशासनिक अधिकारीहरूको भूमिकाबारे समेत प्रतिवेदनमा चर्चा गरेको अनुमान गरिएको छ ।

























