विराटनगर जेसीजद्वारा डा. शान्ति सुवेदी ‘नारी सम्मान’ बाट सम्मानित

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १३:०३
 विराटनगर जेसीजद्वारा डा. शान्ति सुवेदी ‘नारी सम्मान’ बाट सम्मानित

विराटनगर । विराटनगर जेसीजले आफ्नो ५३ औँ स्थापना दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शान्ति सुवेदीलाई ‘नारी सम्मान’ बाट सम्मानित गरेको छ ।

समाजमा स्वास्थ्य सेवामार्फत पुर्‍याएको विशिष्ट योगदान, समर्पण र विशेषगरी निःसन्तान दम्पतीहरूको जीवनमा आशाको ज्योति छर्न सफल भएको भन्दै डा. सुवेदीलाई सम्मान गरिएको हो । विराटनगरमा लामो समयदेखि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा प्रदान गर्दै आएकी डा. सुवेदीले धेरै परिवारमा सन्तानको खुसी भित्र्याउन उल्लेखनीय भूमिका निर्वाह गरेकी छन् ।

विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले पूर्वअध्यक्षहरूको उपस्थितिमा डा. सुबेदीलाई खादा, माला तथा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष दाहालले समाज परिवर्तन र सेवामा समर्पित व्यक्तित्वहरू नै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रमका अन्य वक्ताले डा. सुबेदीको व्यावसायिक दक्षता र मानवीय सेवा भावको उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रममा विराटनगरको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी गीता दिदीलगायत विराटनगर जेसीजका पूर्वअध्यक्षहरू, बोर्ड पदाधिकारी, विराटनगर जुनियर जेसीजका प्रतिनिधिका साथै इनरुवा, दुहबी र इटहरी जेसीजका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक आशिका खतिवडाले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयाँलले कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको र विराटनगर जेसीजले आफ्नो स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ भने नारी दिवसको अवसरमा हरेक वर्ष समाजका विशिष्ट महिलाहरूलाई सम्मानित गर्दै आएको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.