
काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षति र बल प्रयोगबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई ९ सयभन्दा बढी पृष्ठको विस्तृत प्रतिवेदन हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा भदौ २३ को प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर २१ जनाको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई मुख्य जिम्मेवार ठहर गर्दै फौजदारी कानुन अनुसार कारबाही अघि बढाउन सिफारिस गरिएको छ ।
आयोगले तत्कालीन जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई समेत दोषी देखाउँदै कारबाहीको दायरामा ल्याउन सुझाव दिएको छ । फिल्डमा खटिएका अधिकृतहरूका अनुसार आईजीपी खापुङले सञ्चार सेटमार्फत गोली चलाउन आदेश दिएको र प्रजिअ रिजालले त्यसको स्वीकृति दिएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न आरोपीहरूलाई पनि पहिचान गरी संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा अभियोजन गर्न सिफारिस गरेको छ । सरकार र आन्दोलनकारी पक्षबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौता बमोजिम आयोगले बिना भेदभाव छानबिन गरी दोषीहरूलाई कारबाहीको सिफारिस गरेको सदस्य एवं पूर्व एआईजी विज्ञानराज शर्माले बताए । उनले गल्ती गर्ने जोकोहीलाई पनि नछोडिने स्पष्ट पारेका छन् ।
जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो भने नयाँ बानेश्वर घटनामा मात्रै २१ जनाले ज्यान गुमाएका थिए । मृतकहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष विक, सुलभराज श्रेष्ठलगायतका प्रदर्शनकारीहरू र १० जना कैदीबन्दी तथा बालबन्दीहरू रहेका छन् ।
प्रतिवेदनले ती घटनाहरूमा अत्यधिक बल प्रयोग भएको निष्कर्ष निकाल्दै दोषी सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वलाई मुलुकी अपराध संहिता–२०७४ अनुसार कारबाही गर्न सरकारलाई मार्गप्रशस्त गरिदिएको छ ।

























