
काठमाडौं। । प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ कटाउन निकै चुनौतीपूर्ण देखिएको छ । प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवारहरूले हालसम्म प्राप्त गरेको कुल मत संख्या २ लाख २ हजार ५४३ मात्र रहेको छ, जबकि राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि यो संख्या पर्याप्त देखिँदैन ।
निर्वाचन नियमावली अनुसार समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउनु अनिवार्य हुन्छ । यसपटक देशभर कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको प्रारम्भिक अनुमान छ । यदि खसेको मतमध्ये करिब ४ प्रतिशत (४ लाख ३९ हजार १०८ मत) बदर हुने मान्ने हो भने कुल सदर मत १० करोड ५३ लाख ८ हजार ६०३ हुन आउँछ । यस आधारमा कुनै पनि राजनीतिक दलले समानुपातिकबाट संसद्मा प्रतिनिधित्व सुनिश्चित गर्न कम्तीमा ३ लाख १६ हजार १५९ मत प्राप्त गर्नुपर्ने देखिन्छ ।
अहिलेको तथ्याङ्क अनुसार राप्रपाले थ्रेसहोल्ड कटाउन प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा थप १ लाख १३ हजारभन्दा बढी मत समानुपातिकमा जोड्नुपर्ने हुन्छ । अर्थात्, प्रत्यक्षमा आफ्ना उम्मेदवारलाई भोट हाल्ने मतदाताबाहेक अन्य दलका उम्मेदवारलाई मत दिएका थप एक लाख मतदाताले समानुपातिकमा ‘हलो’ चिह्नमा मतदान गरेको अवस्थामा मात्र राप्रपाको प्राविधिक जित सम्भव छ ।
सुनसरी–४, नुवाकोट–१, गोरखा, बर्दिया, इलाम, संखुवासभा र अछामका केही क्षेत्रमा गणना जारी रहे पनि हालको देशव्यापी लहर हेर्दा राप्रपाका लागि यो लक्ष्य भेटाउन कठिन देखिएको छ । यदि समानुपातिकमा उल्लेख्य ‘क्रस भोटिङ’ नभएमा राप्रपा यसपटक समानुपातिक सिटबाट वञ्चित हुने र राष्ट्रिय पार्टीको मान्यता गुमाउने जोखिममा रहेको छ ।

























