
ओखलढुंगा । सिद्धिचरण नगरपालिका–९ गहतेस्थित एक घरमा शनिबार दिउँसो आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय पहलमान श्रेष्ठको ढुङ्गा–माटोले बनेको तीन तले घर दिउँसोको आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे १ बजे घरसँगै जोडिएको पालीबाट अचानक सुरु भएको आगोले घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात र भाँडाकुँडा सबै खरानी बनाएको छ ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मी र स्थानीय बासिन्दाको अथक प्रयासपछि दिउँसो ४ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।
आगलागीको कारणबारे स्पष्ट नभए पनि क्षति भने ठूलो भएको प्रारम्भिक अनुमान गरिएको छ । घर पूर्ण रूपमा नष्ट भएपछि पीडित परिवारको बिचल्ली भएको छ ।

























