
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा २२ नम्बरमा तोकिएको उक्त पेसी समय अभावका कारण हेर्न नभ्याइने भएपछि सुनुवाइ सरेको हो।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चयन भएपछि निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि माघ ६ गते सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अन्तिम सुनुवाइका लागि अग्राधिकार प्रदान गरेको थियो।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा गरिएको विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै आएको छ। अन्तरिम आदेश दिन यसअघि अस्वीकार गरेको सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ माग गरेको थियो। आजको सुनुवाइ सरेसँगै कांग्रेसको आन्तरिक विवादको कानुनी निरुपणका लागि केही समय थप पर्खिनुपर्ने भएको छ।

























