
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ का रूपमा टिप्पणी गरेका छन्। सोमबार फेसबुकमार्फत लामो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आएको दाबी गरे।
‘भदौ २३–२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा नै मैले यो पहिलो एपिसोड हो र दोस्रो एपिसोड बाँकी छ भनेको थिएँ,’ गुरुङले भने, ‘जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ र त्यसको सामना गर्न तयार रहनुपर्छ भन्ने मेरो धारणा थियो।’
यो कुरा त्यसपछिका प्राय: सबै औपचारिक र अनौपचारिक बैठकमा आफूले दोहोर्याइरहेको उनले उल्लेख गरे। ‘तर, यस विषयमा पदाधिकारी, पूर्व पदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि ?,’ उनले प्रश्न गरे।
आफूले बारम्बार सचेत गराउँदा पनि कतिपय नेताहरूले बुझ्न नचाहेको र कतिपयको पदको महत्त्वाकाङ्क्षाले थिचिएको मानसपटलले यथार्थ बुझ्न नसकेको उनले बताए। ‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो। धेरैलाई यो भदौ २३-२४ को दोस्रो एपिसोड हो भन्ने थाहै भएन,’ नेता गुरुङले भने। थाहा पाउँदासम्म धेरै ढिला भइसकेको उनले बताए।
आफूले ‘चुनाव लडौँ कि कसो गरौँ ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाव दिएको समेत उनले खुलाए। किनकि यो भदौ २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ, उनले भने। आफूसँग सल्लाह लिएर पनि चुनाव लडेका नेताहरूले हार बेहोर्नुपरेको बताउँदै गुरुङले अब चुकचुकाउनुको कुनै अर्थ नरहेको उल्लेख गरे।

























