
काठमाडौं । चैते दसैंअन्तर्गत चैत्र शुक्ल प्रतिपदाको अवसरमा आज (बिहीबार)देखि चैत्र नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना आरम्भ गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७ः५१ बजे घटस्थापनाको उत्तम साइत रहेको छ । सोही साइतमा उत्तर फर्केर घटस्थापना गर्नुपर्ने जनाइएको छ ।
नवरात्र सुरु भएसँगै देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको भिड लाग्न थालेको छ । भक्तजनहरूले नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना र व्रत बस्ने परम्परा रहिआएको छ ।
शास्त्रीय मान्यताअनुसार वर्षमा चार पटक नवरात्र पर्ने भए पनि आश्विन र चैत्र महिनाको नवरात्रलाई विशेष रूपमा मनाइन्छ । आषाढ र पौष शुक्ल पक्षका नवरात्रलाई भने लुप्त नवरात्रका रूपमा चिनिन्छ ।























