
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको बिहार अररिया जिल्ला फारबिसगञ्ज–२५ का २५ वर्षीय विपुल बर्मालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार बसपार्क क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा बर्माको साथबाट प्लास्टिकमा प्याक गरी राखिएको अवस्थामा १ सय ग्राम खैरो हिरोइन फेला परेको थियो ।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका बर्मालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।























