
इटहरी । सुनसरीको इटहरीमा आइतबार आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
पत्रकारिता क्षेत्रका चुनौती र सुधारका उपायहरूलाई केन्द्रमा राखेर घोषणापत्र तयार पारिएको हो । डिजिटल सञ्चारमाध्यम प्रदेश खबर डटकमको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशभरिका पत्रकार, सञ्चार उद्यमी, विज्ञापन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
समिट नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र महासंघ सुनसरीको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, विज्ञापन बजारको असन्तुलन, सञ्चार संस्थाहरूको आर्थिक चुनौती तथा श्रम अधिकारका विषयमा गहन छलफल भएको प्रदेश खबरका सञ्चालक एवं सम्पादक पवन विवश अधिकारीले बताए ।
घोषणापत्रमा पत्रकारहरूको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, नियुक्तिपत्र अनिवार्य गर्ने, सामाजिक सुरक्षा कोषमा सहभागी गराउने, पत्रकार आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्ने जस्ता विषयहरू समेटिएका छन् । त्यस्तै, लोककल्याणकारी विज्ञापनको पारदर्शी वितरण, मिडियालाई राज्यबाट हुने विभेद अन्त्य, विज्ञापन बजारको व्यवस्थित नियमन तथा डिजिटल मिडियाको दिगो विकासमा जोड दिइएको छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं तथा पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पत्रकारहरूले उठाएका जिज्ञासामा जवाफ दिएका थिए । समिटले मिडिया उद्योगलाई व्यवसायिक, पारदर्शी र उत्तरदायी बनाउन राज्य, सञ्चार संस्था र पत्रकारबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै घोषणापत्रमार्फत कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आह्वान गरेको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा राखेका थिए । कार्यक्रममा पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, अन्य विज्ञापन, पत्रकारहरूको पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा सहभागिता, नियुक्तिपत्र, पत्रकारका लागि वित्तीय विकासका कार्यक्रम, मिडिया सञ्चालनका विविध पक्षलगायत विषयमा पत्रकारहरू शालिग्राम पाण्डे, सुविद गुरागाईं, बन्धु पोखरेल, सुमन पुरी, सञ्जीव वाग्ले, खेमचन्द्र अधिकारी, राजन केडी, विदुर खवास, मीनकुमार नवोदितलगायतले जिज्ञासा राखेका थिए ।























