
काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज (बिहीबार) मनाइँदैछ । घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना भइरहेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
वर्षभरिमा चार नवरात्र पर्ने भए पनि आसाढ र पुस महिनाका नवरात्रहरू प्रचलित छैनन् । ती अवधिमा सीमित साधकहरूले मात्र देवीको उपासना गर्ने परम्परा रहेको छ ।
तर, असोज शुक्ल पक्षको नवरात्र, अर्थात् बडादसैं भने विशेष महत्वका साथ मनाइन्छ । त्यसमा घटस्थापनादेखि दशमीसम्मका विधि र परम्पराहरू औपचारिक रूपमा पालन गरिन्छ र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चलन छ ।
चैते दसैं मनाउने परम्परा अधिकांश परिवारमा देखिँदैन । यद्यपि, काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा विधिवत् घटस्थापना गरी अष्टमीका दिन बलि दिने प्रचलन अझै कायम छ ।
यस पर्वमा अष्टमी र नवमीलाई विशेष महत्व दिइन्छ । अष्टमीलाई चैते दसैंका रूपमा मनाइन्छ भने नवमीलाई भगवान् श्रीरामको जन्मदिनका रूपमा ‘रामनवमी’ मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार त्रेता युगमा यही दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्याबाट श्रीरामको जन्म भएको विश्वास गरिन्छ ।
बडादसैंझैँ चैते दसैंको पनि मूल तथा उद्देश्य सुख, शान्ति र समृद्धिका लागि देवीसँग आशीर्वाद माग्नु नै हो । परिवारका सदस्यहरूबीच भेटघाट र सामूहिक पूजा गर्ने चलनले सामाजिक सम्बन्धसमेत सुदृढ बनाउने विश्वास गरिन्छ ।
काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका शक्तिपीठमा बिहीबार बिहानैदेखि विशेष पूजा भइरहेको छ । पूजाआजा, दर्शन तथा बलि चढाउने कार्य जारी रहेको हो ।
चैत्र नवरात्रका रूपमा समेत चिनिने चैते दसैंले धार्मिक आस्थासँगै सामाजिक एकता र पारिवारिक सद्भावलाई समेत बलियो बनाउने विश्वास गरिन्छ ।























