सांकेतिक तस्बिरबिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा ग्रिलको काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा भारतीय कामदारको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको यस दुर्घटनामा भारतको धुपगढी स्थायी घर भएका २३ वर्षीय गोविन्द मण्डलको ज्यान गएको हो।
मण्डल बिर्तामोडस्थित चेतन सिटौलाले सञ्चालन गरेको ‘पूजा ग्रिल’ उद्योगमा कार्यरत थिए। उनी अर्जुनधारा नगरपालिका–४, भाङबारीस्थित विन्ध्यावासिनी मन्दिरको कम्पाउण्डमा ग्रिल लगाउने काम गरिरहेका थिए। सोही क्रममा अचानक विद्युतीय सर्ट भई उनलाई कडा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका मण्डललाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा दिउँसो १२:२५ बजे उनलाई मृत घोषणा गरे। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























