
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको जनता आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले ‘विश्व अटिजम जागरूकता दिवस’ को अवसरमा बिहीबार विराटनगरमा प्रभातफेरी तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष आवश्यकता शिक्षा विषय अध्ययन गरिरहेका विद्यार्थीहरूको सक्रियतामा यो कार्यक्रम आयोजना गरिएको हो ।
विराटनगरको पुष्पलाल चोकस्थित क्याम्पस परिसरबाट सुरु भएको र्याली दुग्ध विकास संस्थान चोक र राजवंशी चोक हुँदै पुनः पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी विद्यार्थीहरूले अटिजम भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउनुपर्ने र उनीहरूको अधिकार सुनिश्चित गरिनुपर्ने सन्देशसहितका विभिन्न सचेतनामूलक प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै पूर्वक्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले, उपप्राध्यापक द्वय डा. नागेश्वर सिंह र उत्तम राईले अटिजमको महत्त्व र आवश्यकताका बारेमा प्रकाश पारे । उनीहरूले अटिजम कुनै रोग नभई मस्तिष्कको विशेष अवस्था भएकोले यस्ता बालबालिकालाई माया, प्रोत्साहन र उचित शिक्षाको खाँचो रहेको कुरामा जोड दिए । वक्ताहरूले समाजमा लुकेर रहेका अटिजम भएका व्यक्तिहरूलाई पहिचान गरी उनीहरूलाई मूल प्रवाहमा ल्याउन शैक्षिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
प्रभातफेरीमा विशेष आवश्यकता शिक्षाका साथै सामाजिक कार्य र कानुन संकायमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
हरेक वर्ष अप्रिल २ तारिखका दिन विश्वभर ‘विश्व अटिजम जागरूकता दिवस’ मनाउने गरिन्छ । जनता आदर्श बहुमुखी क्याम्पसले अपांगता भएका बालबालिकाहरूको शिक्षा र संरक्षणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘विशेष आवश्यकता शिक्षा’ र सामाजिक कार्य जस्ता महत्त्वपूर्ण विषयहरू अध्यापन गराउँदै आएको छ ।

























