
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा बस र माइक्रो बस एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट झापाको काँकडभिट्टा आउँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा माइक्रो बसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलान्चोक मण्डनदेउपुर–९ ३० वर्षीया अनिता न्यौपाने, ३२ वर्षीय प्रवीन तिवारी र ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरूमा झापाको शिवसताक्षी नगरपालिका–८ की ९ वर्षीया संस्कृति यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् । उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























