
काठमाडौं । काम छ भन्दै भेट्न बोलाएर दाङको राप्ती गाउँपालिका– २ बाह्रखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको हत्या भएको छ । प्रहरीका अनुसार घटना बिहीबार रातिको हो । उनको शव शुक्रबार मध्याह्न राप्ती– ४ दोलाइ खोलाको सुक्खा नालामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार स्मिथका साथी राप्ती – १ पाखापानीका १६ वर्षीय आयुषमान थापा मगर घाइते छन् । उनको उपचार जारी छ । स्मिथलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिकाका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका निवासी १८ वर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिकाकै १८ वर्षीया आकृति बुढा छन् ।
प्रारम्भिक अनुसन्धानबाट मध्यरातमा भेट्न बोलाएर कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
‘नियन्त्रणमा लिएर दुवै हात बाँधिएको, मुखमा कपडा कोचिदिएर बोल्न नदिएको, चक्कुले छाती तथा अनुहारमा पटक–पटक आक्रमण भएको छ,’ प्रहरीले भनेको छ,‘ हत्या पछि घिसारेर नालामा फालेको भन्ने तथ्य खुलेको छ ।’
आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लिखित फेसबुक मेसेन्जरबाट भेट्न आऊ भनेर बोलाइएको थियो । स्मिथ र आयुषमान बिहीबार बेलुकी ८ बजेतिर घरबाट सँगै राप्ती गाउँपालिका– ४ तर्फ निस्किएका थिए ।
बोलाएको ठाउँमा पुग्दा आकृति थिइन् । उनले दुवैलाई लिएर केही पर एकान्तमा ठाउँमा पुगेपछि आयुषमानलाई यहीँ बस्नू’ भन्दै स्मिथलाई मात्रै लिएर गएर कुटपिट पछि हत्या गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

























