विराटनगरमा मिटरब्याजीको आतंक, घरमै पुगेर धम्की

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार १७:४४

विराटनगर । विराटनगरका यातायात व्यवसायीलाई मिटरब्याज कारोबारीको समूहले ज्यान मार्ने धम्की दिँदै करोडौँ रकम माग गरेको घटना सार्वजनिक भएको छ ।

विराटनगर महानगरपालिका–१२ का ६१ वर्षीय राजन क्षेत्री कँडेलले आफू र आफ्नो परिवारमाथि मिटरब्याजको धन्दा चलाउने गिरोहले धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका हुन् । शुक्रबार ५ जनाविरुद्ध जाहेरी परेको छ । मिटरब्याजको गिरोहका सदस्य विराटनगर महानगरपालिका–९ मा बस्दै आएका भोलेनाथ गुप्ता, एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र विराटनगर–७ का प्रवीन जैनविरुद्ध कँडेलले उजुरी दिएका हुन् ।

कँडेलका अनुसार मिटरब्याजको धन्दा चलाइरहेको गिरोहले चैत १५ गते बिहान घरमा आएर धम्की दिएको थियो । शेखर पोखरेल, शिव भवानीलगायतको समूहले घर घेराउ गरी आतंक सिर्जना गरेको उनको गुनासो छ । कँडेलले जाहेरी दिएका व्यक्तिहरु विराटनगरमा लामो समयदेखि मिटरब्याजको धन्दा चलाउने गिरोह रहेको प्रहरी स्रोतले बतायो ।

जाहेरी परेकामध्ये भोलेनाथ गुप्ताले आफूलाई मिटरब्याजको कुरा थाहा नभएको बताए । ‘मसँग आशिष निरौलाले १० लाख रूपैयाँ भदौमा लिएका हुन् । त्यो पैसा कसलाई दिए र कसको चेक लिए भन्ने मलाई थाहा छैन,’ उनी भन्छन, ‘उजुरी परेको थाहा पाएपछि हामी छलफलमा बस्यौं । मिटरब्याजको धन्दामा संलग्नता नभएकाले नडराउनु भनेर मलाई साथीहरुले भन्नु भएको छ ।’

आफूले कसैको चेक बाउन्स नगरेको उनले बताए । ‘आशिष निरौलाबाहेक अरुसँग मेरो लेनदेन छैन । म जागिर खाएर बस्ने मान्छे हुँ । निर्दोश छु,’ उनी भन्छन् । गुप्ताले आफू विराटनगरकै एउटा उद्योगमा लेखापालको रुपमा कार्यरत रहेको बताए । उनी भन्छन्, ‘मेरो घर सप्तरी हो । विराटनगर–१० मा बस्छु । एउटा फ्याक्ट्रीमा लेखापाल काम गर्छु । अरु कुरा मलाई थाहा छैन ।’

आशिष निरौलाले भने व्यक्तिगत लेनदेनको विषय रहेको र त्यो कुरा मिलिसकेको बताए । ‘मिटरब्याजको कुनै विषय हैन । मैले बहिनी (राजनकी छोरी रोजी कँडेल)लाई पैसा दिएको हो । त्यो कसरी मिटरब्याज हुन्छ ? मकैसँगै घुन पिसिएको हो । तर, हाम्रो व्यवहार पनि मिलिसक्यो,’ निरौला भन्छन् ।

जाहेरीमा नाम उल्लेख गरिएका विष्णुकुमार साहले आफूहरुविरुद्ध उजुरी परेको थाहा पाएपछि कुरा मिलाइसकिएको बताए । ‘हिजो राति (शुक्रबार राति) नै सबै कुरा मिलिसकेको छ । अरु कुरा केही हैन । राजन कँडेलकी छोरीले गर्दा अलिकति समस्या भएको हो,’ उनले भने ।

जाहेरीमा नाम जोडिएका एजाज अहमद र प्रवीन जैनले भने फोन उठाएनन् । एजाज र प्रवीन दुवै जना विराटनगरका नामुद मिटरब्याजी रहेको प्रहरी स्रोतको भनाइ छ । विगत लामो समयदेखि मिटरब्याज धन्दामा उनीहरुको नाम जोडिने गरेको छ । स्रोतका अनुसार राजन कँडेललाई सबैभन्दा बढी धम्की दिने व्यक्ति विष्णुकुमार र एजाज हुन् ।

‘एउटा सामान्य व्यवसाय गरेर खाने मान्छेलाई मिटरब्याजको गिरोहले सडकमै ल्याइदिएको छ । यो घटनामा राजन कँडेल अत्यन्तै धेरै पीडित छन् । जाहेरी परिसकेकाले मिटरब्याजको धन्दा चलाउने गिरोहलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याउनुपर्छ,’ एक स्थानीय भन्छन् ।मिटरब्याजीका कारण कँडेलसहित उनको सिंगो परिवार पीडित बनेको स्थानीयको भनाइ छ ।

के हो घटना ?

राजन कँडेलकी छोरी रोजी विराटनगरस्थित सिटीजन्स बैंकको कन्चनबारी शाखाकी कर्मचारी थिइन् । रोजीविरुद्ध नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । बैंकले दिएको जाहेरीका आधारमा प्रहरीले रोजी कँडेलमाथिको अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तर, रोजी भने फरार छिन् ।

रोजी फरार भएकै अवस्थामा रोजीसँग कारोबार रहेको भन्दै भोलेनाथ गुप्तासहित विराटनगर–९ का एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र विराटनगर महानगरपालिका– ७ का प्रवीन जैनले बुवा राजनमाथि दबाब सिर्जना गरेका हुन् । यो समूह विराटनगरमा सक्रिय मिटरब्याजीको गिरोहमध्येको एउटा रहेको प्रहरीको भनाइ छ ।

राजन कँडेलका अनुसार यो समूहसँग उनको परिवारका सबै सदस्यको चेक छ । ‘मेरो श्रीमती र छोरा–बुहारीको ६–७ वटा चेक यिनीहरुसँग छ । तर, हामीले चेक काटेर दिएको छैनौं । सबैलाई म चिन्दिन पनि,’ कँडेलले भने, ‘छोरी बैंकमा कार्यरत हुँदा छोरीबाट चेक लिएको हुनसक्छ ।’ यो समूहले कँडेलसँग ५ करोड ६० लाख रुपैयाँ भन्दा बढी नगद दिन माग गरिरहेको छ । पैसा नदिए जे पनि हुनसक्ने भन्दै धम्की दिइरहेको उनले बताए ।

रोजी कँडेल बैंकको रकम हिनामिना प्रकरणमा जोडिएपछि छोरीले बुझाउनु पर्ने भन्दै मिटरब्याजीको समूहले ५ करोड ६० लाख रुपैयाँ नगद नै दिन दबाब दिएको कँडेलको भनाइ छ । उनले यो कुरा जाहेरीमा पनि उल्लेख गरेका छन् । पैसा नदिए परिवारका सदस्यलाई नै गायब पारिदिने धम्की पनि दिएको कँडेलले बताए ।

उनले धम्की दिनेसमूहसँग रहेका चेकहरूमा आफ्नो हस्ताक्षर नभएको र कुनै पनि लेनदेन नभएको दाबी गरेका छन् । ‘मैले कहिल्यै हस्ताक्षर नगरेको र लेनदेन नै नभएको अवस्थामा नक्कली चेक देखाएर मलाई र मेरो परिवारलाई त्रसित बनाइयो,’ उनले भने, ‘कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको छु ।’

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको बताए । ‘बैंकको रकम ठगी गरेको कसुरमा फरार रोजी पक्राउ परेपछि थप विषय खुल्छ,’ उनले भने, ‘मिटरब्याजको उजुरीको विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ विराटनगरमा मिटरब्याजको गिरोह सक्रिय रहेको जानकारी आएको बताउँदै एसपी कटवालले गिरोहलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रियता बढाइएको बताए ।

यस्तो छ राजन कँडेलको जाहेरी

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.