
झापा । लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध झापा प्रहरीले विशेष अभियान ‘मिसन अपरेसन ब्राउन’ सञ्चालन थालेको छ । विशेष अभियान ‘मिसन अपरेसन ब्राउन’ थालेसँगै लागुऔषध कारोबारीहरू पक्राउ पर्न थालेका छन् ।
यस क्रममा गौरादह नगरपालिका–३ चप्रामारी घर भई हाल अर्जुनधारा–६ मा डेरा गरी बस्ने ३७ का धनबहादुर राजवंशी, अर्जुनधारा–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी र गौरादह–३ चप्रामारीका ३० वर्षीय सृजना राईलाई लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
अर्जुनधारा–६ अदुवा खोला नजिकै लखी मुर्मुको घरमा डेरा गरी बस्ने धनबहादुर राजवंशीको कोठामा ब्राउन सुगर कारोबार भइरहेको छ भन्नै सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले छापा हानेको थियो ।
त्यस क्रममा धनबहादुरको कोठामा २२ ग्राम लागुऔषध ब्राउन सगुर फेलापछि ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
झापामा पछिल्लो समय लागुऔषधको जालो तोड्न प्रहरीले ‘मिसन अपरेसन ब्राउन’ लाई तीव्रता दिएको छ, जसअन्तर्गत शंकास्पद स्थानहरूमा निगरानी र छापा मार्ने कार्य भइरहेको छ ।

























