
कपिलवस्तु । कपिलवस्तुमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्ने एक गाउँपालिका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट सामान ल्याउने विषयमा विवाद भएपछि घटना भएको हो । वडा नम्बर ५ स्थित शिवलवा दोहनी चेकपोस्टमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि उपाध्यक्ष चौधरीले हातपात गरेका थिए ।
घटनापछि सशस्त्र प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























