
काठमाडौं । बलात्कार मुद्दामा सजाय काटिरहेका बेला कारागारबाट भागेका एक युवक चोरी मुद्दामा पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० का ३१ वर्षीय उमेश पुरी छन् ।
पुरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमी पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले बताए । २०८२ साउन १९ मा बलात्कार मुद्दामा डिल्लीबजार कारागार चलान भएका पुरी भदौ २४ मा जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए ।
कारागारबाट भागेका उनले गत चैत २ गते अनलाइनमा बिक्रीका लागि राखिएको बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर किन्ने बहाना पारेका थिए । ‘टेस्ट ड्राइभ’ गर्छु भन्दै स्कुटर लिएर फरार भएका उनलाई अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ मा तीनकुनेबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनले चोरी गरेको स्कुटरसमेत बरामद गरेको छ ।
पुरीको आपराधिक इतिहास लामो देखिएको छ । यसअघि उनी २०७३ मा चोरी मुद्दामा खोटाङबाट र २०७७ मा बहुविवाह मुद्दामा सुनसरीको चक्रघट्टीबाट पक्राउ परेका थिए । बलात्कार मुद्दामा तेस्रो पटक पक्राउ परेका उनी अहिले चौथो पटक चोरीमा समातिएका हुन् । उनीमाथि प्रहरी वृत्त थिमीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

























