
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट भन्सार छली ल्याइएका अवैध सामान र एउटा मोटरसाइकल बरामद गरेको छ।
विराटनगर महानगरपालिका-५ स्थित सडक किनारमा बेवारिसे अवस्थामा राखिएको सामान प्रहरी टोलीले फेला पारेको हो।
भारतबाट अवैध रूपमा भन्सार छली ल्याएको सामान राखिएको गोप्य सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
चेकजाँचका क्रममा प्रहरीले १७६ पिस कुर्ता सुरुवाल सेट, ४५ केजी सुकेको खुर्सानी र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।
बरामद गरिएका सामान र मोटरसाइकलको कुल अनुमानित मूल्य ३ लाख ५ हजार ३५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि विराटनगरस्थित रानी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

























