
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा पुनः मुद्दा दायर गरेको छ । निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाउँदै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।
सरकारी पक्षका अनुसार प्रसाईंले गत फागुन ३ गते सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्न आह्वान गरेका थिए । उक्त आह्वानले निर्वाचन प्रक्रिया प्रभावित पार्ने र सार्वजनिक शान्ति भंग गर्ने सम्भावना रहेको निष्कर्षसहित उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।
यसअघि उनलाई फागुन ११ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि करिब दुई सातासम्म हिरासतमा राखिएका प्रसाईंलाई पछि हाजिरी जमानीमा रिहा गरिएको थियो । तर, अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा पुनः मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
प्रसाईंमाथि यसअघि पनि विभिन्न प्रकृतिका मुद्दा दर्ता भइसकेका छन् । साइबर अपराध, आपराधिक लाभसम्बन्धी आरोपसहित उनी कानुनी विवादमा पर्दै आएका छन् । पछिल्लो मुद्दाले भने निर्वाचनसँग सम्बन्धित गतिविधिलाई लिएर उनको भूमिकामाथि थप प्रश्न उठाएको छ ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दोषी ठहर भएमा सजायको व्यवस्था रहेको छ । जसले राजनीतिक तथा सामाजिक गतिविधिमा समेत प्रभाव पार्न सक्छ । प्रसाईंविरुद्ध दायर गरिएको मुद्दाले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।

























