नयाँ वर्षको अवसरमा रौतापोखरीमा महोत्सव

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १०:३७
 नयाँ वर्षको अवसरमा रौतापोखरीमा पर्यटन महोत्सव हुँदै

उदयपुर ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल उदयपुरको रौतापोखरीमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘प्रथम रौतामाई–त्रियुगा धार्मिक पर्यटन महोत्सव’ हुने भएको छ ।

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख ३ गतेसम्म ५ दिने महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेत र रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार यस क्षेत्रलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले पहिलो पटक दुई स्थानीय तह मिलेर महोत्सव गर्न लागिएको हो ।

५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, जातीय झाँकी, र रैथाने अन्नबाली तथा जडीबुटीको प्रदर्शनी रहने छ । साहसिक पर्यटनतर्फ प्याराग्लाइडिङ र सुनकोशी नदीमा र्‍याफ्टिङको समेत व्यवस्था मिलाइएको छ । साथै, गुराँस क्षेत्रको अवलोकन र रौतामाई मन्दिरमा विशेष पूजा आराधना महोत्सवका मुख्य आकर्षण हुन् ।

समुद्री सतहदेखि ५ हजार ५ सय ३५ फिटको उचाइमा अवस्थित रौतापोखरीमा बाह्रै महिना पानी रहने प्राकृतिक पोखरी र मन्दिर रहेको छ । मन्दिर वरपर ५ किलोमिटरको चक्रपथ निर्माण गरिएको छ, जहाँ विभिन्न देवीदेवताका प्रतिमाहरू दर्शन गर्न सकिन्छ । सदरमुकाम गाईघाटदेखि ४२ किलोमिटरको सवारी यात्रा वा २२ किलोमिटरको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ ।

होटेल तथा पर्यटन व्यवसायी संघ र त्रियुगा उद्योग वाणिज्य संघ लगायत एक दर्जन संस्थाहरूको सहकार्यमा हुन लागेको यो महोत्सवले उदयपुरलाई पर्यटकीय ‘हब’ बनाउन महत्त्वपूर्ण टेवा पुग्ने आयोजकको विश्वास छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.