स्वरसम्राज्ञी आशा भोसलेको राजकीय सम्मानका साथ अन्तिम विदाइ गरिँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार ०७:२०

नयाँ दिल्ली । भारतकी सुप्रसिद्ध गायिका आशा भोसलेको आज (सोमबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको पार्थिव शरीरलाई मुम्बईस्थित शिवाजी पार्कमा दिउँसो ४ बजे दाहसंस्कार गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार राति अस्पताल भर्ना गरिएको थियो । केही समयदेखि उनी उमेरजन्य विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् ।

Advertisement

करिब आठ दशकभन्दा लामो आफ्नो गायन यात्रामा आशा भोसलेले हजारौँ गीतमा स्वर दिएकी थिइन् । भारतीय चलचित्र संगीत क्षेत्रमा उनी बहुमुखी प्रतिभाकी रूपमा चिनिन्थिन् । शास्त्रीय, लोक, आधुनिक, गजलदेखि चलचित्र गीतसम्म उनले आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन् ।

उनको स्वरमा रहेको मिठास, लचकता र भावनात्मक गहिराइले विभिन्न पुस्ताका श्रोतालाई समान रूपमा आकर्षित गरेको थियो । उनले आफ्नो जीवनकालमा नौ वटा प्रतिष्ठित चलचित्र पुरस्कारसहित सयभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरेकी थिइन् ।

भारतले योगदानको कदर गर्दै उनलाई पद्म विभूषण प्रदान गरेको थियो । जुन भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान हो । भोसलेको निधनसँगै भारतीय तथा दक्षिण एसियाली संगीत क्षेत्रमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ । उनका गीतहरूले समय, भावना र समाजको गहिरो प्रतिबिम्ब प्रस्तुत गरेका छन् ।

उनको अन्त्येष्टिमा सरकारी उच्च पदाधिकारी, कलाकार, संगीतकर्मी तथा हजारौँ शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ । राजकीय सम्मानसहितको अन्तिम विदाइले उनको योगदानप्रति राज्यले व्यक्त गरेको सम्मानलाई झल्काउनेछ । उनको स्वर अब मौन भए पनि उनले गाएका गीतहरू सधैँ जीवित रहनेछन् । आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.