रामेछाप कांग्रेस सभापति ‘कान्छाराम’ निलम्बित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १६:५६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । पार्टी नेतृत्वविरुद्ध बदनियत पूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएर अनुशासन उल्लघंन गरेको ठहर गर्दै समितिले उनलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले तामाङलाई तत्काल प्रभाव लागू हुने गरी निलम्बन गरेको हो । यसअघि वैशाख ७ गते समितिले उनीसँग स्पष्टीकरण सोधेको थियो । तामाङले बुझाएको स्पष्टीकरणको जवाफ प्रारम्भिक रूपमा चित्तबुझ्दो नदेखिएको र उक्त विषयमा थप अनुसन्धान आवश्यक रहेको समितिको निष्कर्ष छ ।

Advertisement

निलम्बनको निर्णयबारे जानकारी दिँदै कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भने, ‘अनुसन्धान प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनलाई पदमा निरन्तर राख्न नहुने ठहर गरिएको हो । मुद्दाको अन्तिम टुंगो नलागेसम्म उहाँ निलम्बनमा रहनुहुनेछ ।’

तामाङलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ बमोजिम कारबाही गरिएको हो । यो निलम्बनसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि औपचारिक कामकाज वा निर्णय गर्न पाउने छैनन् ।

यसैबीच, केन्द्रीय अनुशासन समितिले अर्को एउटा महत्त्वपूर्ण निर्णय पनि गरेको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित विषयमा यसअघि सोधिएको स्पष्टीकरणलाई भने समितिले तामेलीमा राख्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.