
काठमाडौं । वैशाख कृष्ण औँसीका अवसरमा आज (शुक्रबार) देशभर आमाप्रति श्रद्धा, माया र सम्मान व्यक्त गर्दै ‘आमाको मुख हेर्ने पर्व’ मनाइँदैछ । यस दिनलाई मातातीर्थ औँसी पनि भनिन्छ ।
वर्षमा एकपटक आउने यो दिन सन्तानले आफ्नी जन्मदात्री आमालाई विशेष सम्मान गर्दै मिठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्पराले भरिएको छ । बिहानै स्नान गरी आमाको पूजा गर्ने, खुसी बनाउने र दीर्घायुको कामना गर्ने संस्कार नेपाली समाजमा गहिरो रूपमा स्थापित छ ।
आमालाई सबैभन्दा महान् व्यक्तित्वका रूपमा लिने शास्त्रीय मान्यताले यो पर्वलाई अझ महत्वपूर्ण बनाएको छ । धर्मग्रन्थहरूमा आमालाई गुरु, आचार्य र बाबुभन्दा पनि उच्च स्थानमा राखिएको पाइन्छ । जसले मातातीर्थ औँसीको दिनलाई परम्परा मात्रै नभएर भावनात्मक दायित्वका रूपमा पनि स्थापित गरेको छ ।
जीवित आमा हुनेहरूले स्नेहपूर्वक भोजन गराउने र आशीर्वाद थाप्ने गर्छन् भने आमा बितिसकेकाहरूले तर्पण, पिण्डदान र सिदादान गरी आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्छन् । यसरी दिवङ्गत आमाप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराले पारिवारिक सम्बन्धसँगै सांस्कृतिक निरन्तरतालाई पनि मजबुत बनाउने विश्वास गरिएको छ ।
वैदिक मान्यताअनुसार प्रत्येक मानिसले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने हुन्छ । जसअन्तर्गत आमाप्रतिको सम्मानलाई विशेष रूपमा जोड दिइन्छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिले आमा र जन्मभूमिको विशेष महत्त्व दर्शाउँछ ।
यस अवसरमा काठमाडौं मातातीर्थमा परम्परागत रूपमा मेला लाग्ने गर्दछ । आमाको सम्झनामा स्नान गर्ने, तर्पण दिने र पूजाआजा गर्नेहरूको भिड लागेको छ ।
आमाले नौ महिना गर्भमा राखी जन्म दिनेदेखि पालनपोषणसम्म गरेको योगदानलाई सम्झिने मातातीर्थ औँसी पर्व नेपाली समाजको गहिरो भावनात्मक र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । यस अवसरले सन्तानलाई आफ्ना आमाप्रति कृतज्ञ बन्ने र सम्मान व्यक्त गर्ने अवसर प्रदान गरेको छ ।



















