
विराटनगर । ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र कञ्चनबारील्े आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजतजयन्ती विशेष कार्यक्रम भव्य रूपमा मनाउने तयारी गरेको छ ।
विराटनगर महानगरपालिका–३ मा रहेको उक्त केन्द्रले नयाँ भवन उद्घाटनसँगै सामाजिक, शैक्षिक तथा मानवीय सेवासम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिने जनाएको छ । केन्द्रले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै वैशाख ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार वैशाख ६ गते निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । जसले स्थानीय समुदायलाई प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेको छ ।
त्यसको भोलिपल्ट वैशाख ७ गते शिक्षक तथा शिक्षाविद्हरूको स्नेह मिलन तथा सम्मान कार्यक्रम राखिएको छ । जसमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।
त्यसैगरी, वैशाख ८ गते विभिन्न संघसंस्था, समाजसेवी तथा समुदायमा सक्रिय व्यक्तिहरूलाई समेट्दै स्नेह मिलन तथा सम्मान कार्यक्रम आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ । यी कार्यक्रमहरू मार्फत समाजका विभिन्न तहबीच सहकार्य, सद्भाव र आपसी सम्मान अभिवृद्धि गर्ने उद्देश्य राखिएको केन्द्रले जनाएको छ ।
रजतजयन्तीको मुख्य आकर्षणका रूपमा वैशाख १२ गते कञ्चनबारीमा निर्माण गरिएको चार तले नयाँ भवनको उद्घाटन गरिनेछ । सोही दिन शान्ति पदयात्रा, रजतजयन्ती महोत्सव उद्घाटन, विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
केन्द्रकी प्रमुख रमा दिदीका अनुसार यी कार्यक्रमहरू आध्यात्मिक चेतना विस्तार र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले तय गरिएको हो । कार्यक्रमका अवसरमा कोशी प्रदेश प्रमुख गीता दिदीले सकारात्मक सोच र आत्मिक चेतनाले समाजमा सम्मान र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले व्यक्तिको सोच परिवर्तन भए समाज स्वतः रूपान्तरण हुने धारणा व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले ब्रम्हकुमारी राजयोगले निःस्वार्थ भावनाले समाजमा सेवा गर्दै आएको उल्लेख गर्दै संस्थाको योगदानको प्रशंसा गरेका छन् । यसैबीच, केन्द्रका प्रतिनिधिहरू तुलसीराम उप्रेती र खेमप्रसाद निरौलाले नेपालभर ब्रम्हकुमारीका करिब १,५०० सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिँदै कञ्चनवारी केन्द्रमा मात्र दैनिक करिब १५० जना ध्यान अभ्यासका लागि आउने गरेको उल्लेख गरे ।
आध्यात्मिक साधना, सामाजिक सेवा र मानवतावादी कार्यलाई जोड्दै अघि बढिरहेको कञ्चनवारी ब्रम्हकुमारी केन्द्रले आफ्नो रजतजयन्ती कार्यक्रममार्फत समाजमा सकारात्मक ऊर्जा, सहिष्णुता र सहकार्यको सन्देश फैलाउने अपेक्षा गरेको छ ।



















