
विराटनगर । सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी रोक्न मोरङ प्रशासन सक्रियताका साथ लागेको छ । रानी–जोगबनी नाकाबाट हुँदै आएको चोरी तस्करी र राजस्व चुहावट रोक्ने अभियानलाई मोरङ प्रशासनले कडाइका साथ कार्यान्वयन गर्न थालेको छ ।
शुक्रबार सीमा क्षेत्रमा गरिएको आकस्मिक अनुगमनका कैफियत भेटेपछि सच्निका लागि आइतबारसम्मको समय सीमा दिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा सीमा क्षेत्रमा रहेको पसलको पछाडि बनाइएका चोरी बाटो र अवैध संरचना हटाउन दिएको एक हप्ते निर्देशन नटेरेको भेटिपछि अन्तिम पटक सूचना दिँदै आइतबारसम्म निर्देशन पालना नगरे कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।
केही व्यापारीहरूले स्थायी समाधानको सट्टा काम चलाऊ रूपमा संरचना छोपेर प्रशासनलाई झुक्याउने प्रयास गरेको समेत भेटिएको अनुगमन टोलीले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल र इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन राईसहितको टोलीले अनुगमन गरेको थियो ।
सहायक प्रजिक कोइरालाले यसअघि गरिएको अनुगमनमा देखिएको त्रुटिलाई सुधार गर्न सम्बन्धित व्यक्तिलाई पर्याप्त समय दिँदा पनि उनीहरूले अटेर गरेको देखियो । उनले भने, ‘सुधारका लागि दिइएको पर्याप्त समयको बेवास्ता गरेको पुनः अनुगमनमा आउँदा भेट्यौँ । सुधार गर्नुपर्ने तर, प्रशासनको आँखा छल्ने काम मात्रै गरे छन् । आइतबारसम्म दिएको निर्देशन पूर्ण रूपमा पालना नगरे कानुन बमोजिम पसल बन्द गरिने छ ।’
खुला सीमा क्षेत्रको फाइदा उठाउँदै हुने चोरी तस्करी, आपराधिक क्रियाकलाप, राजस्व चुहावटलाई नियन्त्रण गर्न मोरङ प्रशासनले सक्रियताका साथ लागेको छ ।



















