
विराटनगर । नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मान गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि ज्ञान उदास र चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको हो ।
‘देवकुमारी थापा स्मृति सम्मान २०८२’ बाट कवि उदास सम्मानित भए । उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बाल साहित्यमार्फत निरन्तर साहित्य साधनामा समर्पित उदास नेपाली साहित्यका स्थापित स्रष्टा हुन् ।
त्यसैगरी, ‘बबरसिंह थापा स्मृति सम्मान’ बाट चलचित्र निर्देशक संगीता श्रेष्ठ सम्मानित भइन् । उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविध पक्ष उजागर गर्दै आएकी श्रेष्ठको योगदानको कदर स्वरूप सम्मान गरिए हो ।
दुवै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्रा. रामबहादुर थापा, आयोजक संस्थाका अध्यक्ष प्रा. कविराज न्यौपाने, उपाध्यक्ष मालती राई, पूजा थापा श्रेष्ठले सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, प्रमोद प्रधानलगायतले देवकुमारी थापाको साहित्यिक योगदान स्मरण गर्दै नेपाली भाषा र बाल साहित्यको विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए ।



















