
संखुवासभा। दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ। काठमाडौँको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको साँचो तथा आवश्यक कागजात हस्तान्तरण गरे।
एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रका बिरामीले समयमै अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले सहयोग गरिएको बताए। ‘जीवनभन्दा ठूलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने।
गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङमा आपतकालीन अवस्थामा बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पताल पुर्याउन अब सहज हुने उनले बताए।
कार्यक्रममा गाउँपालिकाका पाँचै वडाका अध्यक्षहरू क्रमशः गणेश कुलुङ राई, मोहन सम्सेर राई, प्रताप सिंह तामाङ, देवेन्द्र राई र ईश्वर राईको उपस्थिति थियो। साथै प्रमुख प्रशासकीय अधिकृत प्रविण राई, स्वास्थ्य संयोजक देवेन्द्र कुलुङ राई लगायतका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
हाल गुँरास हाइड्रोपावर परियोजना सोही गाउँपालिकामा निर्माणाधीन अवस्थामा छ। स्थानीयवासीले हाइड्रोपावरको यस सामाजिक कार्यलाई स्वागत गर्दै स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरेका छन्।

























