
काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशीका दिन पर्ने नरसिंह जयन्ती आज (बिहीबार) देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ ।
हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्व बोकेको यो पर्वले अधर्मको अन्त्य गर्दै धर्मको स्थापना गर्ने विश्वास गरिन्छ । धार्मिक विश्वासअनुसार नरसिंह भगवान् विष्णुको चौथो अवतारका रूपमा पूजिन्छन् ।
नरसिंहले अधर्मको अन्त्य गर्दै धर्मको स्थापना गरेको विश्वास गरिन्छ । प्रह्लादलाई बचाउन र दैत्यराज हिरण्यकश्यपुको वध गर्न भगवान् विष्णुले आधा मानव र आधा सिंहको स्वरूप धारण गरी नरसिंह अवतार लिएको पुराणहरूमा उल्लेख छ ।
यस पर्वलाई सत्य, न्याय र धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ । विशेषगरी भगवान् नरसिंहको पूजाआराधना गरी भक्तजनले आफूलाई अन्याय र भयबाट जोगाइदिन प्रार्थना गर्ने परम्परा रहिआएको छ ।
देशका विभिन्न मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । घरघरमा पनि पूजा, पाठ र व्रत बस्ने चलन छ । नरसिंह जयन्तीले धार्मिक आस्था मात्र नभएर असत्यमाथि सत्यको विजयको सन्देश पनि दिने विश्वास गरिन्छ ।



















