
विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक सीपमा दक्ष बनाउने उद्देश्यले पाँच दिने ‘सीप विकास तालिम’ सम्पन्न गरेको छ ।
कलेजले अघि सारेको ‘एक विद्यार्थी, एक सीप’ कार्यक्रमअन्तर्गत कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीहरूलाई विभिन्न १४ प्रकारका आधुनिक एवं जीवनोपयोगी सीप प्रदान गरिएको हो ।
वैशाख १२ देखि १६ गतेसम्म सञ्चालित उक्त तालिमको समापनका अवसरमा विद्यार्थीहरूले आफूले सिकेका सीप र निर्माण गरेका प्रविधिहरूको प्रदर्शनीसमेत गरेका थिए ।
तालिमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल दिनेश दाहालले भने, ‘विद्यार्थीले डिग्री मात्र हासिल नगरुन्, उनीहरूसँग हातमा कुनै न कुनै सीप पनि होस् भन्ने हाम्रो चाहना हो । यो तालिमले उनीहरूलाई भविष्यमा व्यावहारिक जीवन जिउन र स्वरोजगार बन्न मद्दत पुर्याउने छ ।’ कलेजले यस प्रकारको तालिमलाई अब हरेक वर्ष निरन्तरता दिने समेत उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक पवन साहले वर्तमान शिक्षा प्रणालीमा सीपको अभाव रहेको चर्चा गरे । सरकारले पाठ्यक्रममै सीप विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘अध्ययन सकेपछि जागिरकै भर पर्नुपर्ने अवस्था अन्त्य गर्न सीप अनिवार्य छ । सीपयुक्त जनशक्ति कहिल्यै बेरोजगार बस्नु पर्दैन ।’
नेपाल र भारतका १४ जना विज्ञ प्रशिक्षकहरूले विद्यार्थीलाई अत्याधुनिक प्रविधिबारे प्रशिक्षण दिएका थिए । विद्यार्थीहरूले स्मार्ट प्रविधि: स्मार्ट पार्किङ, स्मार्ट घर सञ्चालन र एआईमा आधारित वर्षा मापन प्रविधि । कृषि तथा वातावरण: माटो अनुगमन, स्मार्ट सिँचाइ प्रणाली, वनस्पतिको बोन्साइ प्रविधि र बिरुवामा कलमी लगाउने विधि । सुरक्षा र विपद्: बाढीको पूर्व सूचना दिने प्रविधि, ग्यास लिकेज पहिचान र गतिशील पहिचान प्रणाली र प्राविधिक सीप: एलइडी चिम निर्माण, वायु गुणस्तर अनुगमन र मौसम पूर्वानुमान प्रणालीको विशेष ज्ञान र सीप हासिल गरेका छन् ।




















