
काठमाडौं । कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–११ निगालीकोट नजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
तौलिहवाबाट जीतपुरतर्फ जाँदै गरेको लु १ ख ८७९४ नम्बरको बस दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ पुरुष र ८ महिला घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको जिल्ला अस्पताल तौलिहवा र युनाइटेड अस्पताल ठकुरापुरामा उपचार भइरहेको छ । सामान्य चोट लागेका केही व्यक्तिहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
अधिकांश घाइतेको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















