देशभर अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार १८:३९

काठमाडौं । सरकारले देशभरका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउन आक्रामक कदम चालेको छ । गृह मन्त्रालयले देशका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै अतिक्रमित जग्गामा बनेका अवैध संरचना हटाउन र त्यस्तो जग्गाको संरक्षण गर्न कडा निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूलाई पत्र पठाउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरी जिल्लाभरको अतिक्रमित जग्गाको पहिचान गर्न भनेको छ । साथै, ती जग्गामा रहेका संरचना हटाउने कार्य योजना बनाएर मन्त्रालयमा तत्काल पठाउन पनि निर्देशन दिइएको छ ।

Advertisement

गत चैत २० गते नै परिपत्र गरेको मन्त्रालयले हिजो (बुधबार) सचिव स्तरीय निर्णय गर्दै यो प्रक्रियालाई थप तीव्रता दिएको हो । अतिक्रमण हटाउने कार्यमा हुनसक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र अन्य प्राविधिक सहजिकरणका लागि समेत निर्देशन दिएको छ ।

शुक्रबारदेखि काठमाडौंका विभिन्न नदी किनारमा अतिक्रमित जग्गामा बनेका संरचना भत्काउन सरकारले तयारी पूरा गरेको छ ।
बिहीबार बिहानैदेखि काठमाडौंका ती क्षेत्रहरूमा माइकिङ गर्दै संरचना खाली गर्न सूचित गरिँदै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.