२५७० औं बुद्ध जयन्ती मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०६:०९

काठमाडौं । नेपालसहित विश्वभर २५७०औं बुद्ध जयन्ती आज (शुक्रबार) श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलन छ ।

शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा परेकाले यो दिन बौद्ध धर्मावलम्बीका लागि विशेष महत्व राख्दछ । वैशाख पूर्णिमाको दिनलाई मानव सभ्यताको इतिहासमा एक अद्वितीय क्षणका रूपमा लिइन्छ ।

यसै दिन लुम्बिनीमा राजकुमारका रूपमा जन्मिएका गौतम बुद्धले जीवनको गहिरो अर्थ खोज्दै अन्ततः ज्ञान प्राप्त गरी विश्वलाई अहिंसा, शान्ति र करुणाको मार्ग देखाएका थिए । ‘अहिंसा नै शान्तिको आधार हो’ भन्ने उनका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन् ।

नेपालमा बुद्ध जयन्तीका अवसरमा विहार, गुम्बा, चैत्य र स्तूपहरूमा भक्तजनको उपस्थिति देखिएको छ । विशेष गरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप क्षेत्रमा विशेष पूजा, दीप प्रज्वलन, धर्मदेशना र शान्ति यात्राको आयोजना गरिन्छ ।

लामा तथा बौद्ध धर्मगुरुहरूले बुद्धका शिक्षामाथि प्रवचन दिँदै मानव जीवनमा नैतिकता र सहिष्णुताको महत्वबारे स्मरण गराइरहेका छन् । इतिहासअनुसार, ईसा पूर्व ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मिएका गौतम बुद्ध राजकीय सुख सुविधाबीच हुर्किएका थिए ।

तर, जीवनका यथार्थ (रोग, बुढ्यौली र मृत्यु)सँग साक्षात्कार भएपछि उनी भित्र गहिरो चिन्ता उत्पन्न भयो । यही चिन्ताले उनलाई २९ वर्षको उमेरमा राजदरबार त्याग्न प्रेरित गर्‍यो ।

दरबार छोडेपछि उनले कठोर तपस्या र ध्यानमार्फत जीवनको सत्य खोज्ने प्रयास गरे । अन्ततः बोधगयामा ज्ञान प्राप्त गरेपछि उनी ‘बुद्ध’ अर्थात् ‘जागृत’ बने । त्यसपछि उनले जीवनभर मानवताका लागि दुःखको कारण र त्यसबाट मुक्ति पाउने मार्गबारे शिक्षा दिए ।

बुद्ध जयन्ती धार्मिक पर्व मात्र नभएर मानवता, शान्ति र सहअस्तित्वको सन्देश बोकेको दिवस पनि हो । बुद्धका शिक्षालाई आत्मसात गर्दै समाजमा हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्नुपर्ने आवश्यकता छ ।

विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताबीच बुद्धको शान्तिको सन्देश अझै सशक्त र आवश्यक देखिएको छ । यही सन्देशलाई आत्मसात गर्दै मनाइने बुद्ध जयन्तीले मानव समाजलाई सहिष्णुता, सद्भाव र सहअस्तित्वतर्फ अग्रसर गराउने विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.