विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना पक्राउ, करिब २७ लाख रुपैयाँ बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०६:५५
फायल फोटो ।

विराटनगर । विराटनगर विमानस्थल भएर काठमाडौं जान लागेका दुई जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।

स्रोत नखुलेको करिब २७ लाख रूपैयाँसहित उनीहरु पक्राउ परेका हुन् । मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार विराटनगरबाट काठमाडौं उड्न लागेका यात्रुको नियमित जाँचका क्रममा शनिबार दिउँसो करिब ३ः३५ बजेतिर भारतीय नागरिक पक्राउ परेका हुन् ।

श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्ला सुजागञ्ज घर भएका ३६ वर्षीय मोहिदिल अलीलाई नियन्त्रणमा लिइएको उनले बताइन् । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले शुक्रबार राति ८ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङलाई पक्राउ गरेको छ । बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला नियमित सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

तामाङको साथबाट नेपाली ११ लाख रुपैयाँ बरामद भएको डीएसपी चुँडालले बताइन् । उनका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ फेला परेको छ ।

विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका यात्रुबाट स्रोत नखुलेको ठूलो रकम फेला परेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरुको साथबाट फेला परेको नगदको स्रोत खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यति धेरै रकम बोकेर यात्रा गर्दा त्यसको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा व्यक्तिगत रूपमा नगद बोक्न पूर्ण रूपमा प्रतिबन्ध भने छैन ।

तर, शंकास्पद रूपमा ठूलो रकम भेटिएमा त्यसको वैध स्रोत प्रमाणित गर्नुपर्छ । विशेषगरी बैंकिङ प्रणालीमार्फत कारोबार गर्न प्रोत्साहन गरिएको अवस्थामा ठूलो रकम नगदमा बोक्दा गैरकानुनी गतिविधिसँग जोडिएको आशंका गरिन्छ ।

राजस्व छली, अवैध कारोबार, हुण्डी, लागुऔषध कारोबार वा अन्य आपराधिक गतिविधिबाट प्राप्त रकम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले यस्ता घटनामा कडाइ गर्ने गरेका छन् । त्यसैले ठूलो रकम बोक्दा त्यसको स्रोत खुलाउने कागजात, बैंक विवरण वा कारोबारसम्बन्धी प्रमाण साथमा राख्नुपर्ने डीएसपी चुँडालको भनाइ छ ।

प्रहरीले दुवै व्यक्तिको आर्थिक गतिविधि, सम्भावित नेटवर्क र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानबाट मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी चुँडालले दिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.