
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज (आइतबार) मनाइँदैछ । प्रत्येक वर्ष मे ३ का दिन विश्वरभर यो दिवस मनाउने गरिएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ । स्वतन्त्र, निष्पक्ष र बहुलवादी प्रेसको पक्षमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइएको दिनको स्मरणमा यो दिवस हरेक वर्ष मनाइने गरिएको हो ।
सन् १९९३ मा युनेस्कोको पहलमा नामिबियाको विन्डहकमा आयोजित सम्मेलनले ‘विन्डहक घोषणापत्र’ जारी गरेपछि प्रेस स्वतन्त्रताको महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । उक्त घोषणापत्रले स्वतन्त्र र बहुलवादी सञ्चार माध्यमको आवश्यकता औंल्याउँदै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा जोड दिएको थियो ।
नेपालमा पनि पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाले अन्तरक्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर दिवस मनाउँदैछन् । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले निःशुल्क आँखा शिविर र अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।
दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताले सत्यको खोजी र तथ्यमा आधारित सूचना प्रवाहमार्फत समाजमा सही धारणा निर्माण गर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । उनले पत्रकारहरूले सुरक्षित वातावरणमा निर्भय रूपमा काम गर्न पाउनुपर्नेमा जोड दिएका छन् ।
उपराष्ट्रपति यादवले पनि संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् । उनले पत्रकारितालाई निष्पक्ष, जिम्मेवार र सत्यनिष्ठ बनाउँदै अगाडि बढाउन आग्रह गरेका छन् ।
दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना र यसको चुनौतीका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ । सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाहमार्फत समाजलाई सचेत बनाउने दायित्व अझै महत्वपूर्ण बन्दै गएको सन्देश प्रेस स्वतन्त्रता दिवसले दिएको छ ।

























