
विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आइतबार अग्रज पत्रकार सम्मान तथा आँखा शिविरको आयोजना गरेको छ ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका ६० वर्ष उमेर पुगेका ३ जना अग्रज पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा केदार चौहान, केदार रिजाल र ज्योति शर्मा छन् । उनीहरुले चाँदीको तक्मासहित सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरतबहादुर खड्का, पत्रकार महासंघ कोशीका पूर्वअध्यक्ष विक्रम लुँइटेल, महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्की, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मालगायतले उनीहरुलाई सम्मान गरेका हुन् । ६० वर्ष नाघेका अग्रज पत्रकारहरुलाई महासंघ मोरङले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गर्दै आएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङले समाजलाई परिवर्तन गरी मुलुकको विकासमा योगदान पुर्याउन सञ्चारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको संरक्षणमा सञ्चारकर्मीले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख खापुङले पत्रकारले राष्ट्रिय एकता बलियो बनाइ समाजमा सद्भाव कायम राख्न कलम चलाउनुपर्ने सुझाव दिए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालले पत्रकारिता जिम्मेवारीपूर्ण पेसा भएकोले मुलुकमा शान्ति सुरक्षा एवं सद्भाव कायम महत्वपूर्ण योगदान पुर्याएको बताउ ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले सञ्चारकर्मीको कमलको कारण लोकतन्त्र एवं गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताए । कार्यक्रममा महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइँटेल, मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल, महासंघकी मोरङ अध्यक्ष सुशीला पाठकलगायतले सरकारले सञ्चार क्षेत्रमाथि पछिल्लो समयमा गरेको विभेदको विरोध जनाएका थिए ।
त्यस्तै, सोही अवसरमा आयोजना गरिएको आँखा जाँच शिविरमा ९५ जनाको आँखा परीक्षण गरिएको छ । विराटनगर आँखा अस्पतालसँगको प्राविधिक सहयोगमा सञ्चालित आँखा शिविरमा परीक्षण गराएका मध्ये ४ जनालाई थप उपचारका लागि सिफारिस गरिएको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

























