देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अड्कियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १५:१७

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया आवश्यक कागजात अपुग भएपछि अघि बढ्न सकेको छैन ।

नेपाल प्रहरीको इन्टरपोल शाखा एनसीबी काठमाडौंले रेड नोटिसका लागि आवश्यक विवरणसहित पत्राचार गरे पनि इन्टरपोल मुख्यालयले थप कागजात मागेपछि प्रक्रिया अन्योलमा परेको प्रहरी स्रोतले जनाएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘रेड नोटिसको प्रक्रिया चलिरहेको छ । तर, कागजात नपुगेकाले इन्टरपोलले थप विवरण मागेको छ ।’

Advertisement

यसअघि २०८२ चैत २४ गते काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही निर्णयपछि उनीहरूलाई विदेशबाटै पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको थियो ।

देउवा दम्पती २०८२ फागुन १४ गते उपचारका लागि सिंगापुर गएको बताइन्छ । त्यसपछि चैत ७ गते उनीहरू हङकङ गएको उल्लेख छ । हाल उनीहरू हङकङमै रहेको स्रोतको दाबी छ । पक्राउ पुर्जी जारी भए पनि उनीहरू अझै नेपाल फर्किएका छैनन् ।

नेपाल प्रहरीले आवश्यक सबै कागजात इन्टरपोलमा पठाएको दाबी गरे पनि हालसम्म मुख्यालयबाट औपचारिक जवाफ नआएकोले रेड नोटिस जारी भएको हो वा होइन भन्नेमा स्पष्टता छैन । रेड नोटिस जारी भएमा इन्टरपोलका सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गरी सम्बन्धित कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउन सक्ने व्यवस्था छ ।

पक्राउ पुर्जी जारी भएपछि शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै आफूविरुद्धका आरोपहरू भ्रामक र असत्य भएको बताएका थिए । उनले आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सम्बन्धित निकायमा बुझाइसकेको दाबी पनि गरेका थिए ।

यस प्रकरणसँग जोडिएर देउवा परिवारका सदस्य तथा नातेदारहरूको आर्थिक कारोबारका बारेमा पनि अनुसन्धान भइरहेको बताइएको छ । आरजु राणा देउवा यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत जोडिएकी थिइन् । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी निर्णयसँग जोडिएका आर्थिक कारोबार पनि शंकास्पद रूपमा अनुसन्धानमा रहेका छन् ।

यसैबीच बुढानीलकण्ठस्थित देउवा निवाससँग सम्बन्धित घटनाहरू पनि अनुसन्धानको दायरामा परेका छन् । जेनजी आन्दोलनका क्रममा निवासमा आगजनी भएको थियो । त्यहाँ जलेका नोटहरू फेला परेको भिडियो सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।

हाल इन्टरपोलको निर्णय नआएसम्म देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढ्न नसक्ने अवस्था रहेको प्रहरी स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.