
एजेन्सी । अमेरिकाले अघि सारेको युद्ध अन्त्यसम्बन्धी प्रस्तावलाई इरानले अस्वीकार्य रहेको बताएपछि मध्यपूर्वमा तनाव झन् चर्किएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट आएको जवाफ आफूलाई स्वीकार्य नभएको बताएका छन् । पाकिस्तानमार्फत पठाइएको इरानी प्रस्तावमा तत्काल युद्ध रोक्नुपर्ने, अमेरिकी समुद्री नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा आक्रमण नगर्ने सुनिश्चितता दिनुपर्ने माग समेटिएको बताइएको छ ।
इरानले आफू कुनै दबाबमा नझुक्ने अडान दोहोर्याएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको संवर्धित युरेनियम भण्डार पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध अन्त्य हुन नसक्ने बताएका छन् । उनका अनुसार केही आणविक केन्द्र अझै सक्रिय रहेकाले कारबाही रोक्ने अवस्था छैन ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि देशले कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् । उनले वार्ताको अर्थ कमजोरी नभएको र राष्ट्रिय हितविरुद्ध कुनै सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
अमेरिकी प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, आर्थिक प्रतिबन्ध हटाउने र हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश गरिएको जनाइएको छ । तर, तीमध्ये धेरै सर्त अन्तिम सहमतिपछि मात्र लागू हुने बताइएको छ ।
हर्मुज जलमार्गमा अवरोध कायम रहेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । अमेरिकाले भने इरानमाथि दबाब बढाउन समुद्री निगरानी र नाकाबन्दी अझ कडा बनाएको बताइएको छ ।



















