
काठमाडौं । वर्षे अधिवेशनअन्तर्गत सोमबार बस्ने प्रतिनिधिसभाको पहिलो बैठकअघि विपक्षी दलहरूले संसद्लाई सरकारको ‘कठपुतली’ बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संयुक्त प्रतिवादको तयारी गरेका छन् ।
सिंहदरबारस्थित सभामुख डोलप्रसाद अर्यालको कार्यकक्षमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेट गरी संसद्को भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् । उनीहरुले संसद्लाई सरकारको ‘रबर स्ट्याम्प’ बन्न नदिने चेतावनी दिएका छन् ।
भेटपछि नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले संसद्लाई सरकारको ‘हात्तीको देखाउने दाँत’ जस्तै बनाउने प्रयास भइरहेको आरोप लगाए । उनका अनुसार सबै निर्णय कार्यकारीबाट भइरहेका छन् भने संसद्लाई औपचारिकतामा सीमित गर्न खोजिएको छ ।
विपक्षी दलले संसद् बैठकमा बोल्ने समय नदिइएको र सरकारको नीति तथा कार्यक्रममाथि एक दिन मात्रै छलफल राखिएको विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । महरले आकस्मिक समय माग गरिएको बताउँदै समय नदिइए विपक्षी सांसदहरू उभिएर प्रतिवाद गर्ने चेतावनी दिए । यद्यपि, बहिष्कारजस्ता गतिविधिमा नजाने उनले स्पष्ट पारे ।
सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले सरकारविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारी गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सरकारले ल्याएका अन्य अध्यादेश तथा सुकुमबासी व्यवस्थापनका विषयलाई लिएर सरकारको कार्यशैलीविरुद्ध सशक्त आवाज उठाइने विपक्षी नेताहरूले बताएका छन् ।
विपक्षी दलहरूबीच यस विषयमा समान धारणा बनेको बताइएको छ । एक विपक्षी नेताका अनुसार नेपाली कांग्रेस, एमाले र नेकपाबीच संसद्को सुरुमै संयुक्त प्रतिवाद गर्ने समझदारी भएको छ ।
यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई भने अवरोध नगर्ने विपक्षी दलहरुले जनाएका छन् ।



















