
विराटनगर । मोरङको भारतीय सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रूपैयाँ बरामद गरेको छ ।
सशस्त्रले रतुवामाई नगरपालिका–२ घररुचोक नजिकको सीमा क्षेत्रबाट अवैध रकम बरामद गरेको हो । भारतबाट नेपालतर्फ प्रवेश गरिरहेका व्यक्तिमाथि निगरानी गर्ने क्रममा साथमा बोकेको झोला फालेर उनीहरु फरार भएका थिए ।
फरार भएकाले फालेको झोलाबाट आइतबार राति रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले उक्त रकम बरामद गरेको हो ।
बरामद रकममा पाँच सय दरका ४० बण्डल भारतीय नोट रहेको सशस्त्रले जनाएको छ । थापाका अनुसार मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेपछि जाँच गर्न खोजिएको थियो ।
त्यसक्रममा पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडकछेउमै फालेर फरार भएका थिए । पछि जाँच गर्दा झोलाभित्र ठूलो परिमाणमा भारतीय रुपैयाँ भेटिएको हो ।
बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उक्त रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने यकिन भइसकेको छैन ।

























