
एजेन्सी । अमेरिकाले आक्रमण गर्न सक्ने आशंकामा क्युबा सरकारले देशभर युद्ध तयारी र छापामार प्रशिक्षण तीव्र पारेको छ । सीआईए प्रमुख जोन रेटक्लिफ क्युबा पुगेसँगै युद्ध तयारी र छापामार प्रशिक्षण तीव्र पारिएको हो ।
सीएनएनको रिपोर्टअनुसार हवाना लगायतका सरकारी भवनलाई सम्भावित आक्रमण सामना गर्न तयारी अवस्थामा राखिएको छ । आपत्कालीन योजना सक्रिय गरिएको छ । सरकारी सञ्चारमाध्यममा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ‘सम्पूर्ण जनताको युद्ध’ रणनीतिअनुसार नागरिकलाई छापामार युद्धको प्रशिक्षण दिइरहेको देखाइएको छ ।
क्युबाले लामो समयदेखि अमेरिकी तेल नाकाबन्दी र आर्थिक दबाब झेल्दै आएको छ । जसका कारण बिजुली कटौती, इन्धन अभाव र दैनिक संकट बढेको छ । सैनिक अभ्यासमा पुराना सोभियत हतियार प्रयोग भइरहेको र केही दृश्यमा गोरुले विमानविरोधी बन्दुक तानिरहेको पनि सार्वजनिक भएको छ ।
सैन्य इतिहासकार हल क्लेपाचका अनुसार आधुनिक हतियार अभाव भए पनि क्युबाले लामो समयसम्म प्रतिरोध गर्न सक्ने क्षमता देखाएको छ । रेटक्लिफ ‘संयुक्त राज्य अमेरिका’ लेखिएको विमानमा हवाना पुगेपछि यसलाई राजनीतिक संकेत मानिएको छ र सीआईएप्रति पुरानो शत्रुता स्मरण गरिएको छ ।
क्युबाले सीआईएलाई लामो समयदेखि शत्रु मान्दै आएको इतिहास छ । विशेषगरी सन् १९६० को दशकमा फिडेल क्यास्ट्रोको हत्या प्रयाससम्बन्धी घटनाहरू उल्लेख गरिन्छ । विशेषज्ञ पिटर कोर्नब्लुहले यसलाई दबाब कूटनीति भन्दै क्युबा र अमेरिकाबीच तनाव पुनः बढेको टिप्पणी गरेका छन् ।


















