
काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीमाथि गम्भीर आरोप लागेको छ ।
उनीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर ‘गायब’ बनेको आरोप लागेको हो । व्यक्तिगत सम्बन्ध बढाउँदै विदेशी युवतीलाई गर्भवती बनाएर सांसद कार्की सम्पर्कविहीन बनेको भन्दै जनआस्था लगायतका विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । कार्कीलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गम्भीर दाबीहरू सार्वजनिक भएका छन् ।
नेपालमा बस्दै आएकी नाइजेरियन युवतीसँग लामो समय ‘लिभ–इन’ सम्बन्धमा रहेका सांसद कार्की पछि उनलाई गर्भवती बनाएपछि सम्पर्कविहीन बनेको आरोप लगाइएको छ । ती युवतीले आफू आर्थिक तथा मानसिक समस्यामा परेको दाबी गर्दै सहयोगको माग गरेकी छन् । उनी हाल गर्भवती अवस्थामा रहेको र नेपालकै एक क्लिनिकमा स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेको भन्ने विषय समाचारमा उल्लेख गरिएको छ ।
सांसद कार्की र ती युवतीबीच पहिले नजिकको सम्बन्ध रहेको एवं दुवैबीच व्यक्तिगत स्तरमा नियमित सम्पर्क तथा भेटघाट हुने गरेको बताइएको छ । गर्भवती भएको जानकारी दिएपछि सांसद कार्की क्रमशः सम्पर्कविहीन बनेको युवतीले उल्लेख गरेकी छन् ।
त्यसैगरी, सार्वजनिक भएका केही म्यासेज र कुराकानीहरूमा सांसद कार्कीले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेको जस्तो देखिने संवादहरू पनि रहेको दाबी गरिएको छ । तर, पछि परिस्थिती परिवर्तन भएसँगै सम्पर्क टुटेको आरोप ती युवतीले लगाएकी छन् ।
सुरुमा गर्भपतनका विषयमा छलफल भए पनि सांसद कार्कीले त्यसलाई रोक्न भूमिका खेलेको आरोप ती युवतीको छ । युवतीले दाबी गरेको घटनासँग मेल खाने केही तस्बिरहरु पनि सार्वजनिक गरिएको छ । उनीहरुबीच यस विषयलाई लिएर सामाजिक सञ्जालमा नियमित कुराकानी पनि भएको पाइएको छ ।
व्यक्तिगत तस्बिर, भिडियो तथा म्यासेजहरू सार्वजनिक भएका छन् । दुवै जना सँगै देखिएका तस्बिर र नजिकको सम्बन्ध झल्किने संवादको म्यासेज सार्वजनिक भएको हो । अर्कोतर्फ, सांसद कार्कीमाथि राजनीतिक पृष्ठभूमिसँग जोडेर समेत विभिन्न टिप्पणीहरू भइरहेका छन् । उनको विगतका गतिविधि र २०८२ भदौ २३ र २४ गतको जेनजी आन्दोलनको घटनासँग जोडेर आलोचनात्मक टिप्पणी भइरहेको हो ।
विवाद सार्वजनिक भएपछि सांसद कार्कीसँग मुलुकी खबरले सम्पर्कको प्रयास गरेको थियो । सम्पर्कका क्रममा उनले आफू बैठकमा रहेको र पछि मात्र कुरा गर्ने बताएका थिए ।
यो घटनाले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ । एक पक्षले व्यक्तिगत जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक जीवनसँग जोडेर प्रस्तुत गरिएको भन्दै आलोचना गरिरहेको छ भने अर्को पक्षले जनप्रतिनिधिको आचरण र जिम्मेवारीका बारेमा प्रश्न उठाएको छ ।
हालसम्म यस विषयमा कुनै आधिकारिक कानुनी प्रक्रिया सुरु भएको वा पुष्टि भएको जानकारी छैन । सम्बन्धित पक्षहरूबाट विस्तृत प्रतिक्रिया आएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुनेछ ।



















