क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १५:५३
क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा 

काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै कानुनी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा लामो समयदेखि चल्दै आएको कानुनी विवाद अब अन्त्य हुने भएको छ।

जोरा स्पोर्ट्सले यसअघि एनपीएलको नाम र स्वामित्वलाई लिएर सर्वोच्च अदालत, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले एक विज्ञप्ति जारी गर्दै खेल क्षेत्रको बृहत्तर हित, सुधार र विकासलाई प्राथमिकता दिँदै मुद्दा फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘अदालत जाने निर्णय व्यक्तिगत स्वार्थका लागि नभई खेल क्षेत्रमा देखिएका समस्या र सुधारको आवश्यकताका कारण गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वय र खेलकुदको विकासका लागि गरिएको आग्रहलाई सम्मान गर्दै हामीले यो कदम चालेका हौँ।’

मुद्दा फिर्ता लिए पनि  ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ कम्पनी र त्यससँग सम्बन्धित बैंक खातामाथिको आफ्नो कानुनी स्वामित्व भने यथावत् रहने जोरा स्पोर्ट्सले स्पष्ट पारेको छ।

नेपाली क्रिकेटको विकासका लागि सम्बन्धित निकायहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउँदै अख्तरले आगामी दिनमा खेलकुदको वातावरण अझ सकारात्मक बन्ने विश्वास व्यक्त गरेका छन्। यो निर्णयसँगै क्यानलाई नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न थप सहज हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.