
विराटनगर । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेललाई सिफारिस गर्ने निर्णय गरेको हो । अब मन्त्रिपरिषदबाट निर्णय भएपछि उनको पदोन्नति औपचारिक रूपमा कार्यान्वयन हुनेछ ।
कानुनी व्यवस्थाअनुसार बढुवा समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अध्यक्ष रहने व्यवस्था छ भने गृह मन्त्रालयका सचिव सदस्य हुन्छन् । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्यसचिवका रूपमा रहने प्रावधान छ ।
हाल सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत पोखरेल सशस्त्र प्रहरी संगठनभित्र व्यावसायिक, नतिजामुखी र कडाभन्दा कडा निर्णय लिन सक्ने अधिकृतका रूपमा परिचित छन् । विशेषगरी कोशी प्रदेशमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका बेला उनले तस्करी नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा गोताखोर जनशक्ति उत्पादनमा खेलेको भूमिकाले संगठनभित्र छुट्टै पहिचान बनाएको छ । यही कारण उनलाई भावी आईजीपीको दाबेदारका रूपमा समेत हेरिन थालेको छ ।
पोखरेलको कार्यकालमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको थियो । पोखरेलको पालामा ७२ करोड बराबरका अवैध सामान बरामद गरेर सशस्त्रले रेकर्ड कायम गरेको थियो ।
पोखरेलले कोशी प्रदेशमा सशस्त्रको कमाण्ड सम्हाल्नुअघि सशस्त्रले तस्करी नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गर्न सकेको थिएन । न त पोखरेलको कार्यकालपछि नै सशस्त्रको कामकारबाही प्रभावकारी छ । तर, पोखरेलको नेतृत्वमा तस्करी नियन्त्रणमा सशस्त्रले राम्रो प्रगति गरेको थियो । पोखरेल कोशीबाट सरुवा भएर गएपछि त सशस्त्रले ठूलो बदनामी खेपिरहेको छ ।
सशस्त्र प्रहरीको मिलेमतोमा ठुल्ठूला तस्करी भइरहेको आरोप लागिरहेको छ । विशेष गरेर भारतसँग सीमा जोडिएका मोरङ, झापा र सुनसरीमा सशस्त्रले तस्करीको लाइन चलाएर रजाइँ गरिरहेको छ । सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीसँगै अपराध नियन्त्रणमा पनि सशस्त्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हो ।
पोखरेलको नेतृत्वमा लत्ताकपडा, जुत्ता–चप्पल, चिनी, किराना सामान, खाद्यान्न, कस्मेटिक, स्याउ लगायतका फलफूल, मोटर पार्ट्स, हार्डवेयर सामग्री, सुपारी, सूर्तीजन्य वस्तु तथा मदिरालगायतका तस्करीका सामान व्यापक रूपमा बरामद गरिएको थियो । उनको कार्यकालपछि सशस्त्रले त्यो प्रगति हासिल गर्न सकेको छैन ।
कोशी प्रदेशका तराईका जिल्लामा ‘विशेष घुमुवा’ नै परिचालन गरेर सशस्त्रले असुली आतंक मच्चाइरहेको छ । फागुन २१ गतेको निर्वाचनपछि केही समय तस्करी रोकिएको थियो । तर, अहिले ठूलो परिमाणमा तस्करी भइरहेको छ । सशस्त्रका जिल्ला प्रमुखदेखि लिएर उच्च अधिकारीसम्म तस्करीको धन्दामा संलग्न रहेको आरोप लागिरहेको छ । सीमा क्षेत्रको अवस्था हेर्दा आरोपलाई पुष्टि गर्ने धेरै आधारहरु भेटिन्छन् ।
पोखरेलको पालामा सशस्त्रले तस्करी नियन्त्रणलाई मात्रै ध्यान दिएको थिएन । विभिन्न अपराध नियन्त्रणदेखि अवैध रकम बरामदसम्म सशस्त्रले महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । पोखरेलका पालामा स्रोत नखुलेको १ करोड ४७ लाख ४० हजार १ सय ४० नेपाली रुपैयाँ र प्रतिबन्धित तथा स्रोत नखुलेको ३७ लाख ४९ हजार १ सय ५२ भारतीय रुपैयाँसमेत सशस्त्रले बरामद गरेको थियो ।
लागुऔषध नियन्त्रणमा पनि पोखरेलको नेतृत्व प्रभावकारी देखिएको थियो । उनी कोशी प्रदेशमा रहँदा सशस्त्र प्रहरीले १ हजार ६ सय ७१ किलो गाँजा, ६ सय १६ दशमलव ९२ ग्राम ब्राउन सुगर (खैरो हेरोइन), ४४ हजार ७ सय २२ ट्रमाडोल र ४ हजार २ सय १६ स्पास्मिड ट्याब्लेट बरामद गरेको थियो । लागूऔषध कारोबारमा संलग्न १ महिलासहित १ सय १६ जनालाई पक्राउ गरी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको थियो ।
पोखरेलले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन मात्र गरेनन् । सीमावर्ती स्थानीय तह र जनप्रतिनिधिसँग प्रत्यक्ष सहकार्यको मोडल पनि अघि सारे । सीमावर्ती वडाका वडाध्यक्षहरूसँग नियमित समन्वय, छलफल तथा अन्तरक्रियाले तल्लो तहसम्म पहुँच बढेकाले तस्करी नियन्त्रण प्रभावकारी बनेको उनको निष्कर्ष थियो ।
सीमा क्षेत्रका बासिन्दामा ‘राज्यको उपस्थिति’ र अपनत्वको अनुभूति दिलाउन उनले विशेष पहल गरेका थिए । त्यसले सीमा अपराध नियन्त्रणमा समेत सहयोग पुगेको सशस्त्रका अधिकारीहरू बताउँछन् ।
तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने अधिकृतका रूपमा पोखरेलको छवि अझ बलियो बनेको छ । उनले ‘तस्करीको पैसा खानु परेमा प्रदेशमा सशस्त्रको नेतृत्व नै छाड्छु’ भनेर प्रतिबद्धता गरेका थिए । पोखरेल आफ्नो प्रतिबद्धता पूरा गर्दै कोशीबाट बिदा भएका हुन् । संस्थागत रूपमा हुने अवैध कारोबार रोक्न देखाएको कठोरता र निरन्तरताका कारण संगठनभित्र पोखरेलको उच्च प्रशंसा हुने गरेको छ ।
पोखरेलको अर्को महत्वपूर्ण योगदान भनेको सशस्त्र प्रहरीभित्र गोताखोर जनशक्ति उत्पादन हो । नेपालमा विपद् व्यवस्थापन तथा पानीभित्र खोज तथा उद्धार कार्यका लागि दक्ष जनशक्ति उत्पादनमा उनले निर्णायक भूमिका खेलेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीको प्रमुख हुँदा उनले गोताखोर उत्पादनलाई प्राथमिकतामा राखेका थिए । त्यतिबेला कोशीसहित मुलुकभर गोताखोरको संख्या ९२ पुर्याइएको थियो । विपद्का बेला खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति निर्माणमा कोशी प्रदेश सरकारसँग सहकार्य गरेर तालिम विस्तार गरिएको थियो । सशस्त्रका ‘एक्सन अफिसर’ उनी सीमादेखि विपद्सम्म सफल मानिएका सशस्त्र प्रहरी अधिकारी हुन् ।
सप्तकोसी नदी र फेवा तालमा अभ्यास गर्दै ३६ दिन लामो तालिम सञ्चालन गरी थप जनशक्ति तयार गरिएको थियो । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदीमा विपद् खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित गोताखोर तालिम समापन गरिएको थियो ।
सशस्त्रका गोताखोरसँग अत्याधुनिक उपकरण छन् । उनीहरूले अक्सिजनयुक्त विशेष उपकरण प्रयोग गरेर नदीको ७० फिट गहिराइसम्म तथा स्थिर बहाव भएको पानीमा १६० फिट गहिराइसम्म एक घण्टासम्म निरन्तर खोज तथा उद्धार गर्न सक्ने क्षमता राख्छन् ।
नेपालका सप्तकोसी, कर्णाली, नारायणी, त्रिशूली, गण्डकी तथा सेती नदीदेखि गोक्यो तालजस्ता उच्च हिमाली क्षेत्रसम्म सशस्त्रका गोताखोर परिचालित हुँदै आएका छन् । हालसम्म मुलुकभर ३ सयभन्दा बढी खोज तथा उद्धार अभियानमा गोताखोर सहभागी भइसकेका छन् भने सयौं शव नदी, तालतलैया र पोखरीबाट निकालिएको छ ।
नेपालबाट पहिलोपटक २०६९ सालमा बंगलादेशमा आयोजित गोताखोर तालिममा २५ जना सशस्त्र प्रहरी सहभागी भएका थिए । त्यसपछि नेपालमै गोताखोर तालिम सञ्चालन गर्ने अवधारणा अघि बढाइएको थियो । बराह बाहिनी पकली सुनसरीले पहिलोपटक २० जना सशस्त्र प्रहरीलाई सहभागी गराएर गोताखोर तालिम सञ्चालन गरेको थियो । त्यतिबेला सशस्त्रको कोशी प्रदेश प्रमुख पोखरेल नै थिए ।
गण्डकी प्रदेश सरकारको सहयोगमा सशस्त्रको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले दुईपटक गोताखोर तालिम सञ्चालन गर्यो । ती दुवै तालिम आयोजना हुँदा पोखरेल तत्कालीन एसएसपीका रूपमा विपद् व्यवस्थापन तालिम केन्द्रको प्रमुख थिए ।
नेपालभित्र सञ्चालन भएका चारवटा गोताखोर तालिममध्ये तीनवटा तालिम पोखरेलकै अग्रसरतामा आयोजना गरिएको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । विपद् व्यवस्थापन, खोज तथा उद्धार र दक्ष जनशक्ति उत्पादनमा उनले दिएको योगदानलाई संगठनभित्र उदाहरणका रूपमा लिने गरिएको छ ।
सशस्त्र प्रहरी संगठनभित्र कार्यक्षमता, नतिजामुखी नेतृत्व, तस्करी नियन्त्रणमा कठोरता र विपद् व्यवस्थापनमा देखाएको सक्रिय भूमिकाकै आधारमा पोखरेलको एआईजी बढुवाको बाटो बलियो बनेको चर्चा संगठनभित्र छ । अहिले उनको बढुवा सिफारिसलाई नियमित प्रशासनिक प्रक्रिया मात्र नभई सशस्त्र प्रहरीभित्रको ‘परफर्मेन्स रेकग्निसन’का रूपमा पनि हेरिएको छ ।



















