
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीमा बचत गरेका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको हो ।
समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् । यसअघि पनि समितिले विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गरिसकेको थियो । कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सातसहित हालसम्म कुल ३७८ जना साना बचतकर्ताले रकम प्राप्त गरेका छन् ।
समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने काम भइरहेको छ । आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः अन्य बचतकर्तालाई रकम फिर्ता गरिने जनाइएको छ । हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्ने व्यक्तिलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ । कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाख रुपैयाँभन्दा बढी बचत गरेको तथ्यांक समितिले सार्वजनिक गरेको छ ।



















