
ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने ताप्लेजुङको प्रमुख व्यापारिक नाका टिप्ताला पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि कर्मचारी अभाव र कोभिड–१९ को महामारीका कारण बन्द रहेको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन भएसँगै नाका नियमित सञ्चालनमा आएको हो।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार बिहीबारदेखि नायब सुब्बा प्रदीप धिताललाई भन्सार प्रमुखका रूपमा जिम्मेवारी दिएर पठाइएपछि नाकाको कामकाज औपचारिक रूपमा सुरु भएको छ। यसअघि ओलाङचुङगोलास्थित भन्सार कार्यालय सहयोगीका भरमा मात्र सञ्चालन हुँदै आएको थियो।
पूर्वी नेपालबाट चीनको तिब्बत पुग्ने सबैभन्दा छोटो व्यापारिक मार्गका रूपमा चिनिने ओलाङचुङगोलाबाट २४ किलोमिटरको दूरीमा टिप्ताला नाका पर्दछ। कोभिड महामारीका कारण पूर्ण रूपमा ठप्प भएको यो नाका सञ्चालनमा आउनुलाई आर्थिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको छ।
यद्यपि, करिब ४० वर्ष पुरानो भन्सार भवन हाल अत्यन्तै जीर्ण अवस्थामा रहेको छ। वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण र आवश्यक सामग्री व्यवस्थापनका लागि अर्थ मन्त्रालय र भन्सार विभागमा अनुरोध गरिएको जानकारी दिए ।
यो नाका पुनः सञ्चालनका लागि जिल्लाका ‘जेनजी’ अभियन्ताहरूले भन्सार विभागमा पटक पटक ताकेता गर्दै आएका थिए। ओलाङचुङगोला सडक सञ्जालसँग जोडिएको र अब भन्सार कार्यालय पनि सक्रिय भएपछि राजस्व संकलन बढ्ने र स्थानीय व्यापार फस्टाउने अपेक्षामा स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

























