
काठमाडौं । सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा टाेली घाेषणा भएकाे हाे ।
यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् । १३ राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै यस समूहमा थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।
नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेस बम, नन्दन यादव, कारण के.सी., कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल, सोमपाल कामी छन् ।
प्रतियोगिताको ढाँचाअनुसार चार समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । त्यसपछि सेमिफाइनलमा पुग्ने चार टोलीले २०२६ एसियन गेम्सका लागि स्थान सुरक्षित गर्नेछन् । समूह ‘बी’ मा ओमान, माल्दिभ्स र सिंगापुर रहेका छन् । समूह ‘सी’ मा हङकङ, बहराइन र दक्षिण कोरिया छन् भने समूह ‘डी’ मा मलेसिया, कतार, चीन र उज्बेकिस्तान रहेका छन् ।
छनोटबाट शीर्ष चार टोलीले साविक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग एसियन गेम्स खेल्नेछन् । नेपालले यसअघि आईसीसी वरियताका आधारमा सिधै एसियन गेम्स खेलेको थियो ।

























